काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिज एयरलाइन्सले भैरहवा–अबुधावी उडान गर्ने भएको छ। हंगेरीको बिज वायुसेवा कम्पनीले यूएईको अवुधाबी र भैरहवा उडानका लागि अन्तिम तयारी गरिरहेको हो।
बिज एयरले अबुधावी–भैरहवाबीच हवाई उडान सञ्चालनका लागि अन्तिम तयारी गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । बिज एयरले वैदेशिक रोजगारीका लागि आउने–जाने नेपाली श्रमिक र बाह्य पर्यटक दुवै खालका यात्रुलाई लक्ष्य गरेर यो उडान सञ्चालनको तयारी गरेको हो ।
कम्पनी विमानको सिट संख्याका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने धरौटी दिने क्रममा छ । हवाई उडानको व्यवस्थापन मिलाउन बिज एयरलाइन्सका प्राविधिक टोली हंगेरीबाट साउन ५ मा भैरहवा आउने बताइएको छ । ए २३९ सिट संख्या रहेको बिज एयरलाइन्सले ३२१ निओ विमान सञ्चालनको अनुमति मागेको छ । उसले आउँदो अक्टोबर ३० देखि सातामा तीन उडान गर्ने गरी ६ महिनाको प्रस्तावित उडान तालिका बुझाएको छ ।
करिब ५ घण्टा समयको उडान हुने बिज एयरको विमान भैरहवा राति ९ बजे आइपुग्ने र राति १० बजे अबुधावीका लागि प्रस्थान गर्नेछ । प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई आकर्षित गर्न विमान ल्यान्डिङ पार्किङलगायतका शुल्कमा सहुलियत दिएको छ । विमानस्थलमा उडान सञ्चालनबापत अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अवतरण, पार्किङ, सुरक्षा र सञ्चार शुल्क एक वर्षका लागि शतप्रतिशत छुट दिइएको छ ।
हाल भैरहवा–कुवेतबीच सातामा तीन उडान सञ्चालन गर्दै आएको जजिरा एयरलाइन्सले आउँदो सेप्टेम्बर मध्यतिरबाट उडान संख्या बढाएर प्रतिदिन उडान गर्ने तयारीमा रहेको छ।