काठमाडौं। नेपालबाट अन्तरराष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सीधा उडान सुरु गरेको छ। कम्पनीले अन्तरराष्ट्रिय गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरिएको हो।
छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा हिजो बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो।
उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो। एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ।
नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो। हिमालय एयरलाइन्स काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ।