काठमाडौं। नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा नयाँ दर लागू भएको छ। टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा साउन १ गतेदेखि नयाँ दर लागू भएको हो।
नेपाल सरकारले लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको छ। कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ ।
यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ । त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् ।
यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणको लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।