काठमाडौं। विगत केही दिनदेखि निरन्तर रुपमा परेको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन्। बेमौसमि रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पुर्याएको सडक विभागले जानकी गराएको छ।
त्यस्तै सडक विभागका महानिर्देशकले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति धेरै ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिएका छन्।अविरल वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको छ। त्यस्तै एक महिनाअघि मात्र सञ्चालनमा आएको साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको हो।
सडक विभागका महानिर्देशकले महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको जानकारी दिएका छन्। त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर–राजापुर खण्डको सतीघाटमा ठूलो क्षति पुर्याएको छ। वर्षाले क्षति भएको दुई महिनाअघि मात्र सञ्चालनमा आएको बेँसीसहर चामेबाट मनाङ जाने सडक पुनः अवरुद्ध भएको छ ।यसैगरी मुस्ताङ जाने सडकको काभ्रेभीर भन्ने ठाउँमा पनि सडक अवरुद्ध भएको छ।
निरन्तर रुपमा परेको वर्षाका कारण मुलुकभरि सञ्चालनमा आइसकेका पुलमा भने अहिलेसम्म क्षति पुगेको छैन तर निर्माणाधीन अवस्थामा रहेको अधिकांस पुलमा भने क्षति पुगेको छ। वर्षाले क्षति भएका राजमार्ग तथा सडकमा अबको पाँच दिनभित्र आवागमन हुने गरी मर्मत कार्य सुरु भइसकेको महानिर्देशकले जानकारी दिएका छन्।