झापा। केहि दिनदेखिको अविरल वर्षाको कारण झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्गको ठाँउ–ठाँउमा पहिरो गएपछि यातायातका साधन तीन दिनदेखि सञ्चालनमा आएका थिएनन्। पहिरोका कारण तीन दिनदेखि अवरुद्ध रहेको चारआली–ताप्लेजुङ खण्ड बिहीबार अपरान्हदेखि सञ्चालनमा आएको छ।
त्यस्तै कतिपय ठाँउमा पहिरोले पुरेको सडक स्थानीय प्रशासनले तत्काल हटाएको थियो। तर, इलाम र पाँचथर जोड्ने राँके क्षेत्रको कुखुरे भीरको सडक पहिरोले बगाएपछि यातायात आवगमन ठप्प भएको थियो। मेची राजमार्गको इलाममा मात्र ९ ठाँउमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
पहिरो गएको ठाँउमा ठूला–ठूला चट्टान रहेकाले राँकेदेखि फिदीम खण्ड बुधबार रातिसम्म सडक खुलाउनका लागि प्रयास भएको भएता पनि बिहीबार अपरान्हदेखि मात्र पाँचथरको फिदीमदेखि राँकेसम्मको खण्ड सञ्चालनमा आएको हो। उक्त अवरोध हटेसँगै हाल मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ।
इलाम र पाँचथरका मुख्य र भित्री सडकमा पहिरो झरेर सडक अवरुद्ध भएपछि दसैँ मान्न आफन्तकहाँ गएका तथा फर्किँदै गरेकाहरू बाटोमा अलपत्र परेका थिए। सडक खुलेपछि उनीहरू गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाँचथर र इलामले जनाएको छ।