काठमाडौं। अर्थ मन्त्रालयले सव–कन्ट्रयाक (सहायक ठेक्का सम्झौता) सम्बन्धि नयाँ मार्गदर्शन जारी गरेको छ। मन्त्रालयले आइतबार जारी गरेको मार्गदर्शनमा सहायक ठेक्का सम्झौताका विषयमा नयाँ मार्गदर्शन जारी गरेको हो।
हालसम्म विशेष प्रकृतिका काममा आयोजनाले नै सव–कन्ट्रयाकको प्रावधान राखि पूर्व स्वीकृति सहित काम गराउँदै आएको भएपनि अन्य आयोजनामा समेत निर्माणका लागि सार्वजनिक निकायसँग निर्माण व्यवसायीको सम्झौता भएपश्चात आवश्यकता अनुसार पुरै वा आशिंक रुपमा निर्माण व्यवसायी स्यवमले काम गर्न तेस्रो निर्माण कम्पनी वा व्यक्तिसँग सव–कन्ट्रयाक गरी निर्माण गर्दै आएका थिए। यसरी तेस्रो कम्पनी वा व्यक्तिसँग भएको सम्झौताका विषयमा आयोजनालाई भने कुनै पनि जानकारी गराउने बाध्यकारी प्रावधान थिएन।
अब भने मार्गदर्शनमा उल्लेख भएअनुसार निर्माण व्यवसायीले ठेक्का सम्झौता गरेपछि सम्झौता बमोजिम केही वा सबै कार्यका लागि सव–कन्ट्रयाक गर्नु परेमा अनिवार्य रुपमा आयोजना प्रमुखको लिखित पूर्व स्वीकृति लिनुपर्ने भएको छ। अति आवश्यक कार्यका लागि बाहेक एक तहभन्दा बढी तहमा सव–कन्ट्रयाक गर्न नपाइने व्यवस्था गर्न मार्गदर्शन गरिएको छ।
ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका काममा ठेक्का सम्झौता भएका स्वदेशी तथा विदेशी निर्माण कम्पनीले समेत कामलाई विभिन्न भागमा टुक्राएर अन्य साना निर्माण व्कम्पनी वा व्यक्तिलाई सव–कन्ट्रयाक गरी काम गर्ने प्रचलनमा भने यो मार्गदर्शनले अंकुश लगाउने सम्भावना देखिन्छ।
याे पनि:
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ७० बूँदे निर्देशन