काठमाडौं। पर्वतको कुश्मा नगरपालिकाभित्रै सञ्चालित मोटरेबल पुल सम्झौता गरिएको समय भन्दा पाँच महिना अघिनै निर्माण सम्पन्न भएको छ। पर्वतको कुश्मा नगरपालिका–११ पकुवा र वडा नं .१४ स्थित आर्थर डाँडाखर्क जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न भएको हो।
दोबिल्ला–पकुवा गङगटे–आर्थर सडक खण्डमा पर्ने जहरे खोला पुल र नजिकै रहेको अर्को स्लाब कल्भटको निर्माणकार्य तोकिएको मितिभन्दा अगावै सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय पर्वतको आर्थिक सहयोगमा निर्माण भएको पुल निर्धारित मितिभन्दा अगावै सकिएपछि स्थानीयबासीलाई आवतजावतमा सहज भएको छ।
सागर निर्माण, नेस्नल स्ट्रक्चर र कस्तुरी जेभीबीच निर्माण सम्झौता भएको पुलको १३ महिनामै निर्माणकार्य सम्पन्न भएको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ। पुल निर्माणका लागि २७ जेठ २०७८ मा सम्झौता भएको थियो। १८ महिनामा निर्माणकार्य सक्ने गरी ठेक्का सम्झौता भएको पुल पाँच महिनाअघि नै सम्पन्न भएको निर्माण व्यवसायी किसा शर्माले जानकारी दिए। शर्माका अनुसार पुलको निर्माण सम्पन्न भैसक्नुपर्ने अवधि आगामी २७ मंसिरसम्म रहेको छ। यो पुल २० दशमलव ६० मिटर लम्बाइको छ। त्यसैगरी एउटामात्र स्पान रहेको पुलको भारवहन क्षमता ७० टन रहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ। यो पुल दुई करोड ९१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। वर्षायामको सुरुवातमै पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालेका छन्।
स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग, स्थानीय तहमा जनप्रतिनिधिहरूको निरन्तरताको अनुगमन र ताकेताका कारण समयमै सम्पन्न भएको बताइएको छ। पुल निर्माण सम्पन्न भएपछि पर्वतको कुश्मा नगरपालिका–११ पकुवा, वडा नं. १४ आर्थरडाँडाखर्क, राम्जादेउराली, खौलालाकुरी लगायतका नागरिकलाई सहज भएको छ। पुल निर्माण भएपछि वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको सडक अब बाह्रै महिना सञ्चालनमा आउने भएपछि स्थानीय खुसि भएका छन्।
यो पनिः
भाँसिएको कमला नदीको पुल अझै बनेन