दार्चुला । जिल्लाको मुख्य सडक महाकाली लोकमार्गमा पुर्ण रुपमा सवारी साधन चल्न सकेको छैन । लगातार वर्षाले ठाउँठाउँमा पहिरो खसेर जिल्लाका धेरै सडकहरु अवरुद्ध भएका हुन । सडक बन्द हुदाँ मुख्य गरि ग्रामिण भेगमा आवतजावत गर्न समस्या भएको हो ।
महाकाली लोकमार्गको सडक खण्डमा साना गाडीहरु चल्न सक्ने गरी सडक खुलेतापनि लगतै अत्याधिक पानिको कारणले गर्दा शैल्यशिखर नगरपालिकाको ग्वानी क्षेत्रमा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरीका अनुसार सडक खुलाउन प्रयास गरिएको भएपनि पहिरो हटाउन सकिएको छैन ।
प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टका अनुसार उक्त सडकको पहिरो पन्छाउन दुई वटा एक्स्काभेटरको प्रयोग भईरहेको भएपनि चट्टानी भूभाग भएको हुनाले ठुला गाडीहरु भीरमा ठोक्किने भएकोले सडक माथिको भाग काट्नुपरेको छ । छिट्टै ठुला गाडी चलाउने गरी सडक बनाउने काम भईरहेको छ ।
लगातार परेको अत्याधिक वर्षाका कारण मार्मा जोड्ने बिटुले पारिबगड सडक पनि अवरुद्ध भएको छ । उक्त सडक बाढीपहिरोले अवरुद्ध हुदाँ स्थानियलाई आवतजावत गर्न समस्या भइरहेको छ । नौगाड खोलाको पाईप बाढीले बगाएपछि सडक अवरुद्ध भएको साथै एक हप्ता अगाडि देखि सवारी साधन आवतजावत गर्न पाएका छैनन् भन्दै स्थानीय दिनेशबहादुर सिहंले बताए ।
वर्षायामको सुरुवातसंगै दार्चुलाका धेरै सडकहरु अवरुद्ध भएका छन् । अझ भनौँ ग्रामिण क्षेत्रमा रहेका प्राय सबै सडक अबरुद्धमा रहेका छन् । पहिरोले भासिएर सडक बन्द असारको सुरुवात देखि नै भएको हो । सुदुरपश्चिम प्रदेश सरकारले पहिलो प्राथामिकतामा सडक निर्माणलाई राखेता पनि सडक बन्द भएको एक महिना पुग्दा सम्म पनि खुलाउन पहल गरेको छैन । सडकको ट्रयाक खोलिएको डेढ दशक भए पनि वर्षात्का चार महिना कहिल्यै सडकमा यातायात सञ्चालन हुन सकेको छैन भन्दै उक्त ठाउँका स्थानिय रघुवीरसिंह ठगुन्नाले बताए ।
दुहु गाउँपालिका–१ का रामसिंह महरका अनुसार सडकहरु अवरुद्ध भएपछि गौरा पर्व मनाउन ग्रामिण भेगमा घर भएका हरुलाइ घर फर्किन धेरै समस्या भएको छ । ठाउँठाउँमा पहिरो गएकाले सवारी साधन मात्र नभई पैदल हिड्न पनि समस्या भएको छ ।