दाङ। तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ। डिपोको सम्पूर्ण काम पूरा भएर संरचनाको निर्माण पनि अन्तिम चरणमा पुगेको हो।
विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । ट्याङ्की ३० हजार लिटरको भए पनि अहिले २० हजार लिटरमात्र ट्याङकीमा राखिएको इन्जिनियर सुरज शाहले बताए। गएको वर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो ।
भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणको पुगेको भए पनि प्राविधिक जाँचको काम बाँकी रहेकाले प्राविधिक जाँच भएपछि मात्रै सञ्चालनमा आउने बताइएको छ। न्यू ड्राइभन एमसी फाल्गुनान्दले करिब रु एक करोड ५० लाख लागतमा निर्माणको जिम्मा लिएको थियो ।
इन्धन डिपो नहुँदा काठमाडौँबाटै इन्धन बोकेर ल्याउनुपर्ने अवस्था थियो । यात्रु बस्ने सिटमा राखेर इन्धन ल्याउनुपर्ने अवस्था भएकाले पनि भाडा महँगो पर्न जाने गरेको थियो, अब भने केही सस्तो हुने अपेक्षा गरिएको छ ।
टरिगाउँ विमानस्थलमा अहिले सातामा पाँच दिन जहाज सञ्चालन हुने गरेको छ । शुक्रबार र शनिबारबाहेक अन्य दिन नियमित उडान हुने गरेको छ । विसं २०११ मा टरिगाउँ विमानस्थलमा पहिलोपटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो विमानस्थल विभिन्न समयमा बन्द हुँदै सञ्चालन हुने गरेको छ ।