काठमाडौं। बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। बुटवलको योगीकुटीस्थित राष्ट्रिय प्रसारण लाइन (ग्रिड) सँग जोडिएपछि सञ्चालनमा आएको हो।
उक्त आयोजना सात वर्षअघि थालिएको थियो। भैरहवा–लुम्बिनी क्षेत्रमा बढ्दो सहरीकरण र औद्योगिकीकरणका कारण बढ्दो विद्युत्को मागलाई विद्युत् प्राधिकरणले थेग्न सकेको थिएन। आवश्यकताअनुरूपको विद्युत् योगीकुटीको राष्ट्रिय प्रसारण लाइनबाट ल्याउने बाटो (संरचना) नै थिएन। ८० मेगावाट मात्र विद्युत् ल्याउन सकिने क्षमताको तारबाट १ सय मेगावाट विद्युत् ल्याएर बाँड्दा भैरहवा, लुम्बिनी क्षेत्रमा ओभरलोडका कारण बारम्बार विद्युत् आपूर्तिमा अवरोध हुने गर्थ्यो।
आयोजनाअन्तर्गत निर्मित मैनहिया सबस्टेसनबाट ४० मेगावाट उपलब्ध गराइएको आयोजनाले जनाएको छ। भैरहवा।लुम्बिनी क्षेत्रमा ४० मेगावाट विद्युत् थप उपलब्ध भएपछि र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा रहेका उद्योगहरूको विद्युत् समस्या समाधान भएको छ।
लुम्बिनी र अमुवा क्षेत्रमा विद्यमान विद्युत् समस्या पनि समाधान भएको छ। आयोजना सञ्चालनमा आएपछि अब भैरहवा।लुम्बिनी क्षेत्रमा विद्युत् अभावको कुनै समस्या नहुने विश्वास गरिएको छ। भैरहवामा पनि विद्युत् प्रसारणमा धेरै सहजता भएको छ। एयरपोर्ट, लुम्बिनी र अमुवा क्षेत्रलाई थप विद्युत् दिइएपछि भैरहवामा विद्युत् व्यवस्थापन गर्न सहज भएको बताइएको छ। अर्को ट्रान्सफर्मर पनि जडान भएर सञ्चालनमा आएपछि विद्युत् आपूर्तिमा कुनै समस्या रहनेछैन।
१ अर्ब १९ करोड रुपैयाँ लागतमा ०७२ सालदेखि आयोजना सुरु भएको हो। मैनहिया सब स्टेसनमा जोड्ने प्रसारण लाइनको रुट परिवर्तन, निर्माणका क्रममा उत्पन्न विवाद, कोरोना महामारीलगायत कारणले आयोजना निर्माणमा ढिला भए पनि १ अर्ब १९ करोड रुपैयाँभन्दा कम लागतमै आयोजना सम्पन्न हुने आयोजनाले बताएको छ।
यो पनिः
कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल प्रसारण लाइनमा अवरोध