पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। मेयर र राजदूत श्रीवास्तवबीच आइतबार साँझ पोखरामा भेटवार्ता भएको हो।
उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न सहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना आफूहरुको रहेको प्रमुख आचार्यले बताए।
भारतीय सहरमा हवाई उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरे। प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोगप्रति आभार प्रकट गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकाले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा गरेका थिए।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रसंसा गर्दै नेपाल सरकारसँग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने प्रतिबद्धता जनाए। काठमाडौं पछि पोखरालाई महत्व दिएर नै यहाँ ‘पेन्सन क्याम्प’नै राख्नेदेखि विभिन्न परियोजनामा सहकार्य भएको राजदूत श्रीवास्तवले बताए। पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरुले चाहेको र नेपाल सरकारसँग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।