काठमाडौं। पर्वत सदरमुकाम कुश्मा बजारमा खानेपानीको अभाव भएको छ। बजारमा वितरण गर्ने पानीको पाइप लाइनमा आएको समस्याका कारण बजारमा पानीको अभाव भएको हो।
वर्षाका कारण खोलामा आएको बाढी र पहिरोका कारण पाइप लाइनमा भएको क्षतिका कारण पानीको अभाव भएको छ। बजारको पानी व्यवस्थापनको काम गर्दै आएको शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार आइतबारदेखि नै ती दुवै ठाउँबाट आउने पानीको आपूर्ति बन्द भएको हो।
कुश्मा नगरपालिकाको खुर्कोट स्थित क्यादी खोलाको मुहानमा आएको बाढीका कारण बजारमा पानीको आपूर्ति बन्द भएको हो। क्यादी खोलामा आएको बाढीका कारण खोला धमिलिएको देखिएको बताउँदै त्यो स्रोतमा आएको समस्याको बारेमा पनि संस्थाले खोजी गरिरहेको छ। सोमबार साँझसम्ममा दुवै मुहानको पानी कुश्मा खसाल्न सकिने सम्भावना रहेको बताइएको छ।
कुश्मावासीले हरेक वर्षको हिउँद र बर्खा याम दुवै समयमा पानीको समस्या झेल्दै आएका छन्। हिउँदमा पानीका मुहान सुक्दा पानी नै आउँदैन भने बर्खामा तीनै मुहानमा आउने बाढी र बिछ्याइएको पाइप लाइनमा आउने पहिरो क्षति हुँदा आपूर्ति बन्द हुने गरेको छ।
कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहे पनि ३२ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ। गर्मी याममा आपूर्ति घटेर २५ लाख लिटरसम्म झर्ने गरेको छ। पाती खोला र क्यादी खोला सहित डम्डारे खोलाबाट पनि कुश्मामा पानीको आपूर्ति हुने गरेको छ। तर गत भदौमा भीषण वर्षासँगै आएको पहिरोका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध भएको छ।