काठमाडौं । जयनगर–कुर्था खण्डमा निर्मित रेलका भौतिक संरचना हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा भारत सरकारको सहयोगमा निर्मित रेलका भौतिक संरचना हस्तान्तरण गरिएको हो ।
भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिकमन्त्री रेनुकुमारी यादवलाई भौतिक संरचनाको कागजात हस्तान्तरण गरेका छन् ।
रेल विभागका महानिर्देशक दीपकुमार भट्टराई, नेपाल रेलवे कम्पनीका महानिर्देशक नीरञ्जन झा र भारत सरकारका तर्फबाट परियोजना कार्यान्वयन निकाय इरकाँन इन्टरनेसनल लिमिटेडका रवि सहाय र सुरेन्द्र सिंहले हस्ताक्षर गरे ।
पहिलो चरणमा जयनगरदेखि कुर्थासम्मको ३४.९ किमिमा निर्मित भौतिक संरचनाको मात्र हस्तान्तरण भएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । यिनको निर्माण तीन वर्षअघि नै सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको थियो ।