भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
तर, रेल सञ्चालनका लागि रेलसमेत आयात भइसकेको भए पनि कानुन अभावका कारण रेल सञ्चालन हुने टुंगो अझै भएको छैन। रेल सञ्चालनका लागि आवश्यक आन्तरिक प्राविधिक तयारी पूरा भए पनि कानुन अभावमा सञ्चालनका लागि समय लाग्ने रेल विभागका महानिर्देशक दीपक भट्टराईले बताए।
समारोहमा भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकान इन्टरनेशनलले सो रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गरेको थियो। भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४।९ किलोमिटर न्यारो गेज खण्डलाई ब्रोड गेजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ।
जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेसन र साना स्टेसन रहेका छन्। जसमा जनकपुरको ऐतिहासिक महत्वको सहर पनि सामेल रहेको छ। सञ्चालनमा आएलगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ। यसले दुई देशबीचको व्यापारलाई थप बढावा दिनुका साथै नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ हुने आशा गरिएको छ।
१३ सय यात्रु क्षमता भएको रेलले हाल ६ पटक अफ एन्ड डाउन जनकपुर–जयनगर गर्न सक्ने छ। जसले गर्दा यात्रा गर्ने यात्रुहरुमा सहज हुने विश्वाश गरिएको छ।