कैलाली। धनगढीको कनरी पार्क अलपत्र परेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर–१५ मा झण्डै २ वर्षअघि उद्घाटन भएको पार्क सञ्चालनमा कुनै योजना बन्न नसक्ता पार्क अलपत्र परेको हो।
उक्त पार्क देवसिंह एल.बि जेभीले निर्माण गरेको हो। उद्घाटन गरेको छोटो समयमै पार्कभित्र बनाइएका संरचना टुट–फुट भएर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ। यसको संरक्षणमा उपमहानगरले चासो नदिँदा भएका संरचना समेत भत्किन थालेका छन्। संघीय सरकारको पौने तीन करोड रुपैयाँको लगानीमा निर्माण भएको पार्कको यस्तो हविगत भएपछि स्थानीयले पार्क संरक्षण गरिदिन सरकारसँग माग गरेका छन्।
संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले सघन सहरी विकास कार्यक्रम अन्तरगत कनरी पार्क निर्माण गरेको थियो। दुई करोड ७४ लाख रुपैयाँमा पार्क निर्माण भए पनि अवस्था दयनीय बन्दै गएको चौकीदार बिजेन्द्र धामी बताए।
१२ बिगाहा क्षेत्रफलमा रहेको पार्क अलपत्र परेपछि सरकारको करिब पौने ३ करोड रुपैयाँ बालुवामा पानी हालेझैं भएको छ। पार्क निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको थियो।
एकातर्फ निर्माण कम्पनीले कमसल सामान प्रयोग गरेको छ भने अर्कातिर उपमहानगरले उपेक्षाले पार्क हेरिसाध्य भएको छैन। पार्क अलपत्र भएपछि राज्यको सम्पति सकिनु बाहेक कुनै उपलब्धी नभएको स्थानीयको गुनासो छ।
धनगढी उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आए पनि पार्कको बारेमा ध्यान पुग्न सकेको छैन। जनप्रतिनिधिले चौकिदारलाई पारिश्रमिक दिइरहने तर पार्कको अवस्थाबारे जानकारी नै नलिनुले पनि पार्कको संरक्षण हुन सकेको छैन।
त्यसैले धनगढीको मुख्य गहनाको रूपमा रहेको यो पार्कको संरक्षण गरी व्यवस्थित रूपमा अगाडि बढाउन सके साच्चै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने थियो।