कास्की । पोखरामा विध्यवासिनी संस्कृत विद्यापीठमा छात्र भोजन गृह निर्माण गरिएको छ । पोखरा महानगरपालिका–१ भीमकालीपाटनमा रहेको विद्यापीठमा छात्र भोजन गृह निर्माण गरिएको हो ।
भोजन गृह निर्माणका लागि कास्कीको रुपा गाउँपालिका निवासी ई किरिटी सुवेदी (हाल अमेरिका, इम्पावर नेपाल फाउण्डेशन) ले १२ हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आइतबार एक कार्यक्रमबीच नवनिर्मित छात्र भोजन गृहको उद्घाटन गरेका हुन्।
पूर्वीय दर्शनका साथै प्राचीन संस्कृत भाषा, सभ्यता र वाङ्मयको उजागर गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संस्कृत शिक्षासँगै हाम्रा प्राचीन संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।
विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले विभिन्न साथ र सहयोगमा विद्यापीठ वर्तमान अवस्थामा आइपुगेको जनाउँदै पोखरामा संस्कृत माध्यमिक विद्यालय र विद्यापीठबीच एकापसमा सहकार्य गर्दै अघि बढाएको जानकारी दिए ।
विद्यापीठ विकास समितिका संस्थापक अध्यक्ष लीलाभक्त आचार्यले सामान्य अवस्थामा शुरु गरिएको विद्यापीठ क्रमशः साधनस्रोत सम्पन्न बन्दै गएको बताए ।