बागलुङ। बागलुङ–घोडाबाँध सडक कालोपत्रेका लागि वर्षौँ अगाडीदेखि निर्माण कम्पनीसँग सम्झौता गरे पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन। समय–समयमा स्थानीय र सरोकारवालाको दबावका कारण ठेकेदार कम्पनीले काम गरे जस्तो गरे पनि सडकको अवस्था पुरानै रहेको छ।
जिल्लाको बागलुङ, ढोरपाटन, गलकोट नगरपालिका, निसीखोला, तमानखोला, बडिगाड, ताराखोला गाउँपालिकाका हजारौँ नागरिक र लोकमार्ग हुँदै रोल्पा रुकुमका नागरिक समेत सो सडकमा दैनिक यात्रा गर्ने गर्दछन्। तर सडक अव्यवस्थित हुँदा दैनिक सयौँ गाडीमा यात्रा गर्ने यात्रु समेत धुलो र हिलोको कारण सास्ती झेल्न बाँध्य रहेका छन्। यस खण्डको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २८ किलोमिटर सडक मध्ये तीन किलोमिटर भने केही समय अगाडी कालोपत्रे भइसकेको छ भने अब २५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी नै रहेको छ।
यस खण्डमा पर्ने स्थानीयले वर्षौदेखि सडक कालोपत्रे गर्नका लागि आवाज उठाएको भएता पनि उनीहरुको गुनासो हालसम्म पनि सुनुवाई हुन सकेको छैन। अव्यवस्थित सडकका कारण लोकमार्ग आसपासका नागरिकहरुले सास्ती खेप्नु परेको स्थानीयहरुले बताएका छन्। साथै सो सडकले स्थानीयलाई सुविधा भन्दा धेरै समस्या थपिदिएको छ। बागलुङ जिल्लाकै लाईफ लाइनका रुपमा रहेको सडकको यस्तो अवस्था हुँदा पनि सरोकारवाला निकायलाई भने कुनै वास्ता व्यस्ता नै छैन्।