काठमाडौं। बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण गर्न सुरु गरिएको छ। दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्नसुरु गरिएको हो।
चालू आर्थिक वर्षमा विनियोजित बजेटबाट निर्माण कम्पनी छनौट गरी सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा ३८८ मिटर लामो र १०० मिटर अग्लो पुल निर्माण गर्न सुरु हो। रु तीन करोडको लागतमा निर्माण हुने उक्त पुल निर्माणको ठेक्का थानी हिमशिखर जेभीले पाएको छ।
असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले १० महिनामै पुल तयार गर्नुपर्नेगरी सम्झौता भएको छ। दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा चार मिनेटमै छोटिन्छ। दुई गाउँलाई नै एकै ठाउँ बनाउने गरी पुल निर्माण हुनेछ।
पुल बनेमा रत्नेचौरमा उत्पादन हुने तरकारी बजारीकरण गर्न र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणका लागि सहज हुने छ। बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरेको कम्पनीले नै यो पुलको काम थालेकाले समयमै काम हुने सर्वसाधारणमा आशा पलाएको छ।