काठमाडौं। सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग २०७९/८० सम्म नसकिने बताएको छ। आर्थिक वर्ष २०६४/६५ बाट शुरु भएको यो आयोजना आर्थिक वर्ष २०७४/७५ मा सक्ने लक्ष्य थियो।
तर, ०७४/७५ मा रुट परिवर्तन गर्दै २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, लक्ष्यअनुसार २०७९/८० सम्ममा पनि निर्माण सम्पन्न हुने सम्भावना नरहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्को ४.५ वर्ष समय थप गरिनुपर्ने बताएको छ।
मध्यपहाडी लोकमार्ग ०७९/८० मा सम्पन्न हुने सम्भावना छैन्, समय बढाउनुपर्ने छ, आइतबार संसदको विकास तथा प्रविधि समितिमा मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले भने, स्थानीय तहहरुको सहयोग भयो भने अरु थप ४/५ वर्ष लाग्छ।
कास्कीमा घर भत्काउनुपर्ने र बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा सडक के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ छ। बुढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा के गर्ने भन्ने निर्क्योल भएको छैन, पोखरामा आठ सय घर भत्काउनुपर्ने छ, त्यसमा सरकारले मुआब्जा दिन सक्दैन। यस्तोमा स्थानीय तहको सहयोग आवश्यक छ सचिव श्रेष्ठले भने।
सचिव श्रेष्ठका अनुसार आयोजना शुरु भएको १४ वर्षको अवधिमा भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएको छ भने वित्तीय प्रगति ६३ प्रतिशत छ।