बैतडी । वर्षाका कारण आएको बाढीले पाइप बगाउँदा बैतडी सदरमुकाममा खानेपानी अभाव भएको छ । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षाका कारण आएको बाढीले पाइप बगाउँदा बैतडीको सदरमुकाममै खानेपानीको अभाव भएको हो ।
सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजारभन्दा बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोलाको मुहानमा पहिरो गएपछि पाइपमा क्षति पर्याएकाले खानेपानीको समस्या भएको स्थानीयले बताए ।
खानेपानीको समस्या भएको हप्ता दिन भइसक्दा समेत कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ । खानेपानी अवरुद्ध हुँदा सदरमुकामका होटल व्यवसायीलाईसमेत समस्या भएको छ । व्यवसायी अम्बादत्त भट्टका अनुसार खानेपानी नै नहुँदा व्यापार व्यवसाय गर्न निकै सकस भएको छ । पानीको अभावमा शौचालय प्रयोग गर्न पनि समस्या भएको छ ।
बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले खानेपानी सञ्चालन गर्न अझै एक दुई दिन लाग्ने बताए ।