सिन्धुलीमाढी। बढी भार भएको सवारी साधन र अत्यधिक मात्रामा चाप बढेपछि थेग्न नसकेर बीपी राजमार्गको सिन्धुली जिल्लाको विभिन्न स्थानमा खाडल नै खाडल बनेको छ। निश्चित समयमा उचित मर्मत संभार नहुँदा बीपी राजमार्गको भविष्य नै खतरामा पर्नसक्ने अवस्था देखिएको स्थानीय बासीन्दाको गुनासो रहेको छ।
बीपी राजमार्गको दोस्रो खण्ड अन्तर्गत ३९ किलोमिटर लामो सदरमुकाम सिन्धुलीमाढी–खुर्कोट खण्डको केही समयअघि मर्मत गरिए पनि ३७ किलोमिटर लामो सिन्धुलीमाढी–बर्दिबास हालसम्म पनि मर्मत गरिएको छैन। त्यस्तै सिन्धुलीमाढीदेखि भिमानसम्म अझ धेरै खाल्डाखुल्डी परेको छ। केही महिना अघि पुरिएको खाल्डा फेरी उस्तै भएपछि सवारी आवागमनमा समस्या देखिएको मल्लागाउँ निवासीको गुनासो रहेको छ।
२ वर्ष अगाडी सर्वोच्च अदालतले बीपी राजमार्गमा १० टन भारवहन क्षमताको मालवाहक सवारी साधन र १८ सिटसम्मको साना यात्रुवाहक सवारी साधनमात्र चल्न दिने अन्तरिम आदेश जारी गरेको भएता पनि हाल त्यो भन्दा बढी भारवहन क्षमता भएको सवारी साधनहरु चल्नाले जताततै खाल्डा बन्ने गरेको छ।
राजमार्गको निर्माण सम्पन्न भएसँगै अत्यधिक सवारी चाप बढेको र समयमा नै सडक मर्मतलाई ध्यान नदिँदा नेपालकै पर्यटकीय राजमार्गको रुपमा रहेको सो राजमार्ग दिनानुदिन कुरुप बन्दै गएको स्थानीयबासीको गुनासो रहेको छ। त्यस्तै चाडपर्वको समयमा सवारीको चाप अझ बढेको कारणले गर्दा सडकमा खाल्डा परेको जिल्ला ट्राफिक कार्यलयले जानकारी गराएको छ।