सिन्धुली। मध्यपहाडी लोकमार्गमा पर्ने अक्करे भीरमा सोमबार बिहानै सुक्खा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ। यसअघि बेमौसमी वर्षाले पहिरो खस्दा अघिल्लो साता मात्र सो सडक २ दिन अवरुद्ध भएर एकतर्फी सञ्चालनमा आएको थियो ।
सो लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–६ हैबारनजिक रहेको अक्करे भीरमा पटक–पटक पहिरो गइरहने हुँदा सो स्थानमा यात्रुहरूले जहिल्यै सास्ती भोग्नुपर्छ। सोमबार बिहान गाउँपालिकाकै मेसिनले पहिरो सफा गरेपछि एकतर्फी यातायात सञ्चालन भएको छ। यो पहिरोबाट पार पाउन मध्यपहाडी सडक आयोजनाले नै काम थाल्नुपर्ने गाउँपालिका अध्यक्षले बताएका छन् । तीन ठाउँबाट खसेको अक्करे भीरको पहिरो लामो भएको कारणले दीर्घकालीन निराकरण गर्न आयोजनाले नै काम थाल्नुपर्ने भएको हो।
यो आर्थिक वर्षमा मात्र सानाठूला गरी अक्करे भीरमा १५ पटकभन्दा बढी पहिरो खसेर यातायात अवरुद्ध भएको छ । अक्करे भीरमा खस्ने पहिरोले वर्षाको समयमा त दुःख दिन्छ नै, हिउँदमा पनि चर्को घाम लाग्नासाथ सुक्खा पहिरो खसेर यातायात सञ्चालनमा अवरोध हुने गरेको त्यहाँका स्थानीयले जनाएका छन। उक्त क्षेत्रको सडक अवरुद्ध हुँदा ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, भोजपुर, रामेछापबाट काठमाडौं आवतजावत गर्ने यातायातका साधनहरू बाटोमै अलपत्र पर्ने गरेका छन्।