म्याग्दी। म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो। नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्षले चार दिनको यात्रा सडक निर्माण भएपछि दुई दिनमा छोटिएको जानकारी दिएका छन्।
नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला दुई दिन हिँड्नुपर्ने बाटो सडक निर्माण भएपश्चात गाडीमा दुई घण्टामा पुगिन्छ। सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ। अन्नपूर्ण हिमालको आधार शिविर छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको अन्नपूर्ण युवा क्लबका अध्यक्षले बताएका छन्।
पर्यटन विभागले दुई करोड ५० लाख रुपैयाँभन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गरेको छ। यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्षले बताएका छन्। निलगिरीखोला हाइड्रोपावर प्रा लि प्रवर्द्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्गले पर्यटक र स्थानीयवासीलाई समेत सुविधा पुगेको छ।
त्यस्तै यस कम्पनीले सोही ठाउँमा अर्को ७१ मेगावाट क्षमताको निलगिरि क्यासकेड जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ। अधिकांश ठाउँमा विस्फोटक पदार्थको प्रयोग गरी अक्करे पहाड फुटाएर सडक निर्माण गरेको कुरा आयोजनाले जनाएको छ। समग्रमा पाँच प्रतिशत भौतिक प्रगति भएको निलगिरि पहिलोको दुई हजार २०० मिटरमध्ये १०० मिटर सुरुङ निर्माण सकिएको छ भने निलगिरि क्यासकेडको बाँध र पहिलाको विद्युत्गृह निर्माण भइरहेको छोटेपामा ३० मिटर लामो बेलिब्रिज बनाएको छ।
१३ अर्ब लागत अनुमान गरिएको सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजना निर्माणमा करिब एक हजार मजदुर परिचालन भएका छन्। उक्त निलगिरि पहिलाको विद्युत्गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ। त्यस्तै छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेशन जोड्ने ७/४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ।