काठमाडौं। म्याग्दी जिल्लाको विकासका लागि ‘लाइफ लाईन’ मानिएको बेनी–दरबाङ सडक ट्रयाक खुलेको १७ वर्ष पूरा भए पनि कालोपत्र गर्न अझै सकिएको छैन। निर्माण गरिएको भाग पनि पहिरो र नदी कटानका कारण थप जीर्ण बन्दै गएको छ।
सडकको स्तरोन्नति र कालोपत्रका लागि चार वर्षअघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमनकारी निकायको बेवास्ताका कारण सडक थप जोखिमपूर्ण बनेको हो।
विसं २०६३ मा ट्रयाक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले २०७४ असोज ४ गते बेनीदेखि बाबियाचौर खण्डको १३ किलोमिटर सडक कालोपत्र गर्न समानान्तर लामा जेभीसँग रु ४५ करोड भन्दा माथी लागतमा ठेक्का सम्झौता गरेको थियो।
सडक कालोपत्रको काम सुरु गरेको चार वर्ष बितिसक्दापनि सडकको अवस्था झन बिग्रदै गएको छ,चार वर्षमा एक किलोमिटर पनि कालोपत्र भएको छैन, बेनी–दरबाङ सडक खण्ड अन्तर्गतपर्ने सिङगाका नरप्रसाद पौडेलले भने, हामी बाचुञ्जेल यो सडक कालोपत्र हुने मैले देखेको छैन।
यात्रु साँघुरो, खाल्डाखुल्डी, ग्रेड र मोड सुधार नभएको जीर्ण सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। २४ किलोमिटर दूरीको यो सडक पार गर्न तीन घण्टा लाग्छ। बर्खामा हिलो र हिउँदमा धुलोले गर्दा स्थानीय थप समस्यामा परेका छन्। यो सडक आयोजना र निर्माण व्यवसायीबाट सयौँ स्थानीयवासी पीडित छन्।