काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीले क्षति पुर्याएको संरचनाको पुनःनिर्माणका लागि ३ अर्ब ४० करोड रुपैयाँ बजेट माग गरेको छ। बाढीबाट क्षति भएको पूर्वाधार पुनःनिर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट मागेको भौतिक मन्त्रालयका सहसचिवले जानकारी गराएका छन्।
उनका अनुसार डेढ बर्ष भित्रमा पुनःनिर्माण सक्ने गरि अर्थमन्त्रालयसँग बजेट सुनिश्चितता मागिएको हो। क्षति पुगेको सडक संचालनमा आएपनि पहिलाको जस्तो बनाउन समय लाग्ने भएकाले बजेट पाए ठेक्का प्रक्रियामा जान सकिने र केही दिनभित्र सबै ठाउँको सडक सुचारु गर्ने कुरा भौतिक मन्त्रालयका सहसचिवले जनाएका छन्।
यो बर्ष अत्यधिक र बेमौसमी बर्षा भएका कारण सडक तथा पुलमा ठुलो क्षति पुगेको छ। मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार चालु बर्षको असोज ३० गतेसम्म देशभरका केन्द्रमातहतका सडक र पुलमा गरि २ अर्ब ३५ करोड रुपैयाँको क्षति पुगेको थियो। ३० वटा सडक र २४४ स्थानमा राजमार्ग अवरुद्ध भएको थियो। हाल दुवैतर्फ ९९ स्थानमा मर्मत भएर संचालनमा आएको छ। १३९ स्थानमा एकतर्फी यातायात संचालनमा छ। ४ राजमार्गका ६ स्थानमा अझै यातायात अवरुद्ध रहेको छ। त्यस्तै १ अर्ब रुपैयाँ बराबरको मोटरेबल पुलमा क्षति पुगेको थियो।
कार्तिक १ गते भन्दा पछाडी आएको बेमौसमी बर्षाले १ अर्ब ५ करोड रुपैयाँको क्षति पुर्याएको अनुमान गरिएको छ। यो प्रारम्भिक अनुमान मात्र हो। अझै क्षतिको विवरण आउनै बाँकी रहेकोले यसमा थप घट हुन सक्नेछ। कात्तिकमा आएको बेमौसमी बर्षाले १० वटा सडक तथा राजमार्गको १८ स्थान अवरुद्ध बनाएको थियो। त्यसमध्ये दुवैतर्फ तीन स्थानमा यातायात संचालनमा ल्याइएको छ भने ९ स्थानमा एकतर्फी संचालनमा ल्याइएको छ।