खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना निर्माण सम्पन्न भएको छ। खानेपानी योजनाको मंगलबार प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईले उद्घाटन गरेका हुन्।
प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको ४३ लाखको लागतमा आयोजना निर्माण भएको हो। उक्त आयोजना सञ्चालनमा आएसँगै चप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दैआएका स्थानीयलाई लक्ष्यित गर्दै स्थानीय युवा नेता युगसन किरातको पहलमा खानेपानी योजनाका लागि प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ मा ३० लाख र चालु आर्थिक वर्षमा १३ लाख बजेट विनियोजन भएको थियो।
चुप्लामा ७ किलोमिटर दुरीमा रहेको माल्टे मुहानबाट पानी ल्याइएको हो । खानेपानी योजनाका लागि १० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी निर्माण गरिएको प्रदेश खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठले बताए । पिउने पानीको अभाव रहेको चुप्लामा घर–घरमा एक धारा सञ्चालनमा आएपछी स्थानीय हर्षित बनेका छन् ।
बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालु आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ७ लाख बिनियोजन भएको छ ।