एजेन्सी। स्विट्जरल्यान्डले संसारकै लामो यात्रुवाहक रेल गुडाएर नयाँ रेकर्ड कायम गरेको छ। स्विस रेलवेको १७५ औं वार्षिकोत्सवका अवसरमा शनिबार स्विट्जरल्यान्डमा संसारकै लामो यात्रुवाहक रेल गुडाइएको हो।

१.९ किलोमिटर लामो उक्त रेलमा यात्रुहरू बस्न मिल्ने १०० वटा कोच रहेको समाचार संस्था एपीले जनाएको छ। जसमा ४ हजार ५ सय ५० जनाले बसेर यात्रा गर्न सक्नेछन्।

गत शनिबार उक्त रेलले स्विट्जरल्यान्डको हिमाली क्षेत्रमा एक घन्टा लगाएर २५ किलोमिटर लामो यात्रा पार गरेको छ। रेलले ४८ वटा पुल र २२ वटा सुरूङमार्ग पार गरेको थियो। रेलमा सात जना ड्राइभर र २१ जना प्राविधिकहरू थिए।

उक्त रेल बनाएको कम्पनी राइतियान रेलवेका सिइओ डाक्टर रेनाटो फासिआतीले स्विट्जरल्यान्डका हिमाली क्षेत्रमा रेलमा यात्रा गर्दाको सुन्दरता देखाउन पनि यो रेल बनाइएको बताएका छन्।
गिनिज बुकमा रेकर्ड दर्ता भएपछि अब उक्त रेलका डिब्बाहरू निकालेर नियमित रेलमा प्रयोग गरिने छन्।

यसअघि सन् १९९१ मा बेल्जियममा १७३२.९ मिटर लामो र ७० कोच भएको रेल कुदाएर संसारको सबैभन्दा लामो यात्रुवाहक रेलको रेकर्ड राखेको थियो।