सुर्खेत। भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारिएको छ। वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बने पनि अहिले उक्त आयोजनाले सार्थकता पाउन लागेको हो। आयोजना निर्माण पूर्वको कामले गति लिएको हो। योसँगै आयोजनाको भौतिक संरचना निर्माणको बाटो पनि खुलेको छ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार विश्व बैंकको लगानीमा बन्न लागेको उक्त आयोजना निर्माणको काम छिट्टै सुरू हुनेछ। उपभोक्ताका तर्फबाट सुरु गरिएको पहलको यो ठूलो उपलब्धी हो। सुर्खेत उपत्यका खानेपानी संस्थाका इन्जिनियर बालाराम तिवारीले आयोजना निर्माणका लागि तिहारलगत्तै टेण्डर हुने बताए। उनका अनुसार सात अर्ब ५२ करोड लागतमा सम्पन्न हुने अनुमान गरिएको यो आयोजना निर्माण भएपश्चात वीरेन्द्रनगरमा पाँच सय लिटर प्रतिसेकेन्ड पानी झर्ने छ।