गुल्मी। बेमौसमी वर्षासँगै आएको बाढीको कारण कात्तिक ३ गतेदेखि बन्द रहेको रिडी–रुद्रबेनी सडक खुलेको छ। कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र संग्राम शार्दुल गुल्मीको टोलीले बम बिस्फोट गराएर सडक खुलाएको हो।
गुल्मीका प्रमुख जिल्ला अधिकारीले पहिरोको बीचमा ठूला–ठूला ढुंगाहरू भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएपछि सेना परिचालन गरिएको जानकारी दिएका छन्। गत बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बम बिस्फोट गर्न दिने निर्णय गरेको थियो।
रिडी–रुद्रबेनी सडक खण्डको साँघुरेमा माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियो। गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी अवरुद्ध सडक खुलाउने प्रयास गरेको भएपनि सडक खुलाउन संभव नभएपछि बम बिस्फोट गरी सडक सञ्चालनमा ल्याइएको हो।