फाइल तस्बिर
सल्यान। सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती–भोटेचौर लिफ्ट खानेपानी योजना अलपत्र परेको छ। निर्माण व्यवसायीले काम छोडेपछि योजना अलपत्र परेको हो।
संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका ६ लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजनाका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । पालिकाले गरेको टेन्डरअनुसार मस्टा जेभी काठमाडौंले ०७७ फागुनमा लिफ्ट खानेपानीका लागि १ करोड २२ लाखमा सम्झौता गरेको थियो ।
क्रमागत रूपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण निर्माण व्यवसायीले काम छोडेका छन्।
योजना अलपत्र पर्दा भोटेचौर र लान्तीका झन्डै ३ सय परिवार प्रभावित भएका छन् । योजना अलपत्र परेपछि स्थानीय अहिले पुराना मुहानबाट लामो समय हिँडेर पानी ल्याई खान बाध्य छन् । खानेपानीका लागि उनीहरूले विभिन्न किसिमका समस्या भोग्नुपरेको छ । योजनाको काम गर्ने अवधि सकिएपछि निर्माण व्यवसायीले ल्याएका सामग्री समेत अहिले त्यत्तिकै थन्किएका छन् ।