काठमाडौं। कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका ७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेपछि २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्।
पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीय केशवराज भट्टले बताए। अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामी दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौं‚ गाउँमा आउने एकमात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो।
खानेपानी अवरुद्ध हुँदा समेत दोगडाकेदार गाउँपालिका र उपभोक्ता समितिले समेत कुनै चासो नदिएको हो। चडेपानीमा २० किलोमिटर टाढाको मुहान धरमघरबाट खानेपानी ल्याइएकोमा उक्त खानेपानी समेत नआउँदा समस्या भएको हो।
यसअघि चडेपानीमा गत असार दोस्रो साता पनि पहिरोले खानेपानीको संरचनामा क्षति पुर्याएपछि खानेपानीको अभाव भएको थियो।