काठमाडौं। संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजनाले पप्पु कन्स्ट्रक्सनलाई निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै समयमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेको हो।
उक्त निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले गोरखाको पुल समयमा निर्माण नगरेको कार्यालयले बताएको छ। सो पुल समयमा निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने चेतावनी दिएको छ।
११ किलो छेपेटार–भालुस्वारा–वारपाक सडक योजना कार्यालय गोरखाले पुलको काम सक्न पप्पु कन्स्ट्रक्सनलाई निर्देशन दिएको हो।
कार्यालयले पटक पटक लिखित एवं मौखिक ताकेता गर्दा समेत निर्माण कार्य सम्पन्न नगरेकाले यस्तो निर्देशन दिएको जनाएको छ। यो सूचना प्रकाशित भएको मितिबाट ७ दिन भित्रमा निर्माण क्षेत्रमा सम्बन्धित निर्माण व्यवसायी परिचालन भई निर्माणकार्य सञ्चालन गरि सन्तोषजनक कार्य गरी कानुनी परिधी र मर्यादामा रही स्पष्ट प्रमाण र आधारहरु सहित निर्माण कार्य गर्न कार्यालयले अनुरोध गरेको छ।
अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्का तोड्ने कार्यालयले जानकारी दिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा समेत राखिसकेको छ।
