काठमाडौं। सडक विभागले दुई वटा निर्माण कम्पनीसँग ठेक्का अन्त्य गरेको छ। विभागले पप्पु र कोशी एण्ड न्यौपाने जे.भी सँग ठेक्का सम्झौता अन्त्य गरेको हो।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सूचना प्रकाशन गर्दै ठेक्का अन्त्य गरिएको बताएको छ। चार पटक सम्म म्याद थप्दा पनि काम नभएपछि ठेक्का अन्त्य गरिएको हो।
रुकुम पुर्व जिल्लाको सहिदमार्ग सडकको स्तरोन्नति र फराकिलो बनाउने जिम्मा पप्पु र कोशी एण्ड न्यौपाने जे.भी ले पाएका थिए। सडक विभाग र निर्माण कम्पनी बिच मिति २०७४/०३/२९ गते ठेक्का सम्झौता भई मिति २०७६/०९/१८ मा निर्माण कार्य सम्पन्न गर्नु पर्ने गरि सम्झौता भएको थियो।
तर निर्माण कार्य सम्पन्न हुन नसकि चार पटक म्याद थपिएको र थपिएको म्याद समेत मिति २०७९/०६/१८ मा समाप्त भई सकेको कार्यालयले जनाएको छ। निर्माण व्यवसायीलाई कार्य सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक रुपमा अनुरोध गर्दा पनि ठेक्का सम्झौताका शर्तहरु बमोजिम आफ्नो करारीय दायित्व पुरा नगरेको हुँदा ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख गरिएको छ।
कार्यालयले निर्माण कम्पनीलाई यथाशिघ्र कार्यालय स्थल छाड्न पनि अनुरोध गरेको छ। साथै सम्झौत बमोजिम भूक्तानी हुन बाँकी स्विकार्य रुपमा सम्पन्न भईसकेका कुनै कार्य भएमा यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा कार्यालयमा सम्पर्क गरी वित्तिय फरफारक गर्न समेत कार्यालयले अनुरोध गरेको छ।
