काठमाडौं। महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संग्रहालय बन्ने भएको छ। अनुमानित ६ करोड लगानीमा ८ बिघा क्षेत्रफलमा संग्रहालय बन्ने भएको हो।
शहरी विकासमन्त्री मेटमणि चौधरीले उक्त थारु संग्रहालय निर्माणस्थलको निरीक्षण गरेका छन्। थारु जाति इमानदार र मेहेनती भएको बताउँदै मन्त्री चौधरीले भने, ‘कला, संस्कृतिमा सम्पन्न थारु जातिको इतिहास जोगाउन जरुरी छ। पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरुक्षा गरेका छन्। तपाईंहरू संग्रहालयको गुरुयोजना बनाउनुहोस्। म तत्काल कार्यान्वयनमा लैजान्छु।’
मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदीपकुमार चौधरीले संग्रहालय बनाउन मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताए। ‘संग्रहालय करिब ८ बिघामा बन्नेछ। थारु वेषभूषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शन हुनेछ। थारु खानाका परिकारहरू उपलब्ध हुनेछन्। यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ। विभिन्न पर्वहरू, उत्सवहरू मनाउने व्यवस्था हुनेछ। यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्नेछ’, उत्साहित हुँदै उनले सुनाए।