कास्की । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनाभित्रमा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले विमानस्थलमा अबको पाँच महिनाभित्रमा उडान शुरु हुने जानकारी दिएका हुन् ।
उनले अबको एक महिनामा परीक्षण उडान गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताए ।
क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड-१९, परीक्षण फ्लाइट नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताए ।