पोखरा। पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे ४ दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ। सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ ।
यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको छ । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको छ । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा–बनारस–पोखरा गर्ने योजना बनाएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको विमानस्थलले जनाएको छ ।
३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रूपैयाँ लागतमा निर्माण गरिएको हो । विमानस्थलमा २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।
उडान सञ्चालनकै तयारीस्वरुप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको छ । धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको ४० मिटर डाँडा काटेर समतल बनाउने गरी बाँकी २४ मिटर काट्ने काम पनि तीव्र रुपमा चलिरहेको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी भइरहँदा पोखरेली पर्यटन व्यवसायी यसले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन् ।