काठमाडौं। बाक्लो हुस्सुका कारण आज बिहानैदेखि आन्तरिक उडान प्रभावित बनेको छ। आज बिहान देशभरका इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) सिस्टम जडान नभएका २५ वटा विमानस्थलमा उडान रोकिएको हो।
आज बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १२ वटा विमानस्थलमा भने इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) सिस्टमबाट मात्र जहाज अवतरण र उडान गर्न सक्ने व्यवस्था छ ।
भिएफआर सिस्टममा तीन हजारदेखि पाँच हजार मिटर दूरीको भिजिबिलिटी हुनुपर्ने हुन्छ । आइएफआर सिस्टमका उडानका लागि आठ सय मिटरसम्म भिजिबिलिटी जरुरी हुन्छ । विशेष गरी बाक्लो हुस्सुका कारण मुख्य गरी उच्च पहाडी तथा तराईका विमानस्थलहरूको उडान प्रभावित बनेको छ । उडान नहुँदा जहाजमा आवतजावत गर्ने यात्रुहरू मर्कामा परेका छन् ।