काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न सुरु गरिएको छ। पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्माण शुरु गरेको हो।
आँबुखैरेनी गाउँपालिका-२ र ४ को सिमानामा निर्माण गरिने पार्क मङ्गलबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिलान्यास गरे ।पार्क निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल र खोंचबाट झरेको पानीले यहाँ आइपुग्ने पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने यो झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको हो ।
राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणका लागि विश्रामस्थलको रुपमा ऐनापहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ।