काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि तीन तहकै सरकार एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले तीन तहकै सरकारले एकतावद्ध भएर काम गर्नसके मात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका हुन्।
उनले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसके जीडीपीमा पनि सुधार ल्याउन सकिने बताए।
नेपालमा प्राकृतिक सुन्दरताका पक्षहरु धेरै रहेकाले नेपालले यसको फाइदा उठाउन सक्नुपर्ने बताए । नेपालमा पर्यटकहरुका लागि पर्यटकहरुले चाहेको संस्कृति, कला, सौन्दर्य, प्रकृति र शाहसिक गन्तव्यहरु रहेको उनले स्पष्ट पारे ।
पर्यटन विकासका लागि परम्परागत शैली त्यागेर अघि बढ्न आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ छ । उनले संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक भुमिकाबाट पर्यटन क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे।
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने बताए । पर्यटकलाई पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने आजको आवश्यक्ता भएको उनको भनाइ छ ।