काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडकमार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले चन्द्रागिरी–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार भइरहेको सुनिएकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम पुनः सञ्चालन गर्ने बताएका हुन् ।
मन्त्री शर्माले भने, “चन्द्रागिरिको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म आफूले पहल र वातावरण निर्माण गर्न प्रयत्न गर्नेछु ।” अर्थमन्त्री शर्माले काठमाडौंको सवारी चापलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहलसमेत गर्ने बताए ।