बैतडी। बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङबबिना जोड्ने पुल स्थानीय आफैंले बनाएका छन्। राज्यले चासो नदिएपछि स्थानीयले काठका फलेक राखेर सेती नदीमा अस्थायी पुल निर्माण गरेका हुन् ।
२०७८ साल कात्तिकमा सेती नदीको बाढीले पुलसँगै स्थानीय १०३ घरपरिवारको जग्गा बगाएको थियो । बाढीपीडितले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । पुलको अभावमा स्थानीयवासीको दैनिकी कष्टकर बनेपछि समुदायको अगुवाइमा अस्थायी काठेपुल बनाएको स्थानीय बताउँछन्।
स्थानीयले काठेपुल निर्माण गरे पनि जोखिम भने उत्तिकै बढेको छ । सेती नदीमा स्थानीयले गत वर्ष पनि काठेपुल निर्माण गरेका थिए । पुल तर्दा गत वर्ष डोटीको आदर्श गाउँपालिका–६, गिरीचौकाबाट बैतडीको सिगास गाउँपालिका–७, सङ्डा आउँदै गर्दा पुलबाट खसेर एक किशोरीको मृत्यु भएको थियो ।
बाढीले पु¥याएको क्षतिको अवलोकन गर्न गत वर्ष प्रधानमन्त्री, मुख्यमन्त्री, गृहमन्त्री, सङ्घीय सांसद, स्थानीय तहका प्रमुखलगायतका नेता आए पनि हालसम्म राहत नपाएको स्थानीय बताउँछन्। बैतडीको ढुङ्गाड क्षेत्रमा पटक–पटकको बाढीले गाउँ तहसनहस हुँदा पनि गतिलो तटबन्ध निर्माण हुन नसकेको समेत उनीहरुको गुनासो छ।