दमौली। गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।
हाल तनहुँतर्फको सफ्टफिट स्ल्याब ढलान कार्य सकिएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ। स्ल्याब ढलान सकिएपछि अब वालको ढलान कार्यको तयारी हुँदैछ, त्यसपछि डेक स्ल्याबको ढलान हुनेछ। उक्त कार्य सकिएपछि नदी डाइभर्सन गरी बाँकी रहेको एउटा पिल्लरको काम हुने बताइएको छ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । दुई लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा संघीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।