बागलुङ। विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले ५८ करोड पाउने भएको छ। विश्व बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले बागलुङ नगरका ४ वटा सडक कालोपत्र गर्न ५८ करोड अनुदानस्वरुप दिने भएको हो।
अनुदान सम्झौता गत वर्ष नै भइसकेको छ। नगरपालिकाको कार्यपालिकाले यसबाट नगरका चार सडक कालोपत्र गर्ने र बजेट बाँकी रहे अन्य क्षेत्रमा समेत पूर्वाधार निर्माण गर्ने गरी निर्णय भएको बताइएको छ।
प्राप्त हुने रकममध्ये रु तीन करोडको लागतमा सबै सडकको डिपिआर बनाइने र रु ५५ करोडबाट पूर्वाधारको काम गरिने छ । वडानं–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाटसम्मको सडक, वडानं–४ को ओढारचौरदेखि ढोडेनीसम्म पुग्ने सडक, वडानं–७ को मूलपानी माध्यामिक विद्यालयबाट भीमपोखारा जोड्ने सडक र वडानं–१४ को बलेवा विमानस्थलदेखि पैँयूपाटा हुँदै अमलाचौरको भैरवस्थानसम्म पुग्ने सडक कालोपत्र गरिने भएको हो ।
सबै सडक डिपिआरको चरणमा रहेको र डिपिआर लगत्तै ठेक्का प्रक्रियामा लैजाने नगरपालिकाको योजना छ ।