काठमाडौं । गौतमबुद्ध विमानस्थलमा एरो थाईले एक सातासम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ । एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ । त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ । एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो ।
थाई एयरवेजका लागि एटिसिलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ । आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एक साता अवधिको हुनेछ ।