सप्तरी। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको सडकको भौतिक प्रगति अत्यन्त न्यून भएको छ। २ वर्षको अवधिमा जम्मा २५ प्रतिशत मात्र भौतिक प्रगति भएको हो।
हालसम्म यहाँ ८६ किलोमिटर ८२३ मिटर लम्बाइको काम भएको छ। एसियाली विकास बैंक (एडिबी) को सहयेगमा ३ वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर ग्रुपले ठेक्का लिई २०२० अक्टुबर २९ बाट काम सरु गरेको थियो ।
झन्डै १६ अर्ब लगानीमा बन्न लगेको सो सडक चार लेन र सहरी क्षेत्रमा छ लेन बन्ने भएको छ । सो सडकमा आठ अन्डर पास, ६६ पुल र दुई ओभर फ्लाइसमेत बन्ने भएको छ भने मिर्चैया, लहान, रुपनीमा छ लेनको रोड बन्ने बताएको छ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख बिरुवा र फूल रोपिनेछ ।
दायाँ–बायाँ नै साढे दुई मिटरको सोल्जर गर्ने योजना रहेको छ । यो खण्डका मुख्य बस्ती र सहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन बनाइनेछ ।
चाइना रेल्वे नम्बर २ इन्जिनियर ग्रुपका जनसम्पर्क प्रमुख नवीन दुवाडीका अनुसार नोभेम्बरदेखि काम तीव्र गतिमा भइरहेको नेपालको राष्ट्रिय प्राथमिकता सडक रहेकाले समयमा सकाउने गरी कामलाई तीव्रता दिएको छ ।