काठमाडौं । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र विस्तारको काम चलिरहेको छ । मर्मत र विस्तारको काम जारी रहँदा बेहाल भएका सडकका कारण लुम्बिनीको पर्यटकीय क्षेत्रमा असर परेको छ ।
कोरोना संक्रमणको जोखिम कम भएसँगै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने अनुमानलाई सडकको अवस्थाले बिथोलेको हो ।
नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको विस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ । सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन पाएका छैनन् ।
काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आएका छन् ।
विगतमा दशैँ र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको यहाँका व्यवसायीहरुको गुनासो छ ।