फाइल तस्बिर
सुर्खेत। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर आसपासका खोलाहरूबाट नदीजन्य पदार्थको दोहन बढ्दै गएको छ ।वीरेन्द्रनगरमा नदीजन्य पदार्थ दोहनसँगै निकासीमा नक्कली रसिदको प्रयोगसमेत भइरहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले अनुगमनका क्रममा अबैध उत्खखन् र निकासी जथाभावी भइरहेको पाएको छ । विभिन्न खोलावाट गिट्टीबालुवा संकलन गरी कर असुली गर्ने ५ हजार थान नक्कली रसिद नगरपालिकाले बरामद गरेपछि यो जानकारी आएको हो ।
नगरपालिकाको टोलीले अनुगमनको क्रममा वीरेन्द्रनगरको प्रवेशद्वार सुब्बाकुनामा बसेर ठेक्का गिट्टीबालुवा ढुवानी गर्ने ट्रिपर र ट्र्याक्टरबाट अवैध कर असुल्ने दैलेख ठाँटीकाँध–३ ठेगाना भएको भवानी निर्माण सेवाले खटाएका युवालाई नियन्त्रणमा लिएको छ । युवकको साथबाट अनधिकृत कर असुली रसिद पनि नियन्त्रणमा लिइएको नगरपालिकाले जनाएको छ ।
उक्त कम्पनीले चालु आर्थिक वर्षमा भेरीगंगा नगरपालिकासँग नदीजन्य पदार्थ निकासी ठेक्का लिई वीरेन्द्र नगरपालिकाको झुप्राखोलामा समेत अवैध उत्खनन गरिरहेको थियो । कर असुल्ने उक्त कम्पनीका सञ्चालक जुनी खड्का फरार छन् ।
नगरपालिकाले उत्खनन इजाजत नदिएको खोलानालाबाट गिट्टीबालुवा संकलन गरी बेच्न लैजान ल्याएका १४ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । ठेकेदार खड्काले माथिसम्म सेटिङ छ भन्दै क्षेत्राधिकारभन्दा बाहिरको नाकामा वसेर कर असुली गरिरहेकोले खोजतलास भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले वताए ।
उक्त कम्पनीले भेरीगंगा नगरपालिकाबाट रुजु गराई ९ सय थान कर असुल गर्ने रसिद मात्रै बुझेको भेरीगंगा नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले बताए । सम्झौतामा उक्त कम्पनीले ट्याक्टरहरूबाट प्रतिखेप ३ सय रुपैयाँ मात्रै असुल गर्नुपर्नेमा ४ सय र टिपरबाट ८ सय मात्र असुल्नुपर्नेमा १५ सय रुपैयाँ लिइरहेको पाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । कान्तिपुरबाट