काठमाडौं । काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्ने कार्य चार वर्षदेखि अलपत्र अवस्थामा छ । २०७४ देखि शुरु भएको सुनको छाना लेपन कार्य अझै अलपत्र अवस्थामा रहेको हो ।
चार वर्षअघि पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी शुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत २ गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ गरिएको थियो ।
महायज्ञबाट खर्च कटाएर तीन करोड बचेको थियो । झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमा समेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान शुरू भएको हो ।
प्यागोडा शैलीको तीन तले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरि सकिएको छ । माथिका दुई तला सानो छ । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर दुई वर्ष अघिदेखि अलपत्र छ ।