तनहुँ। तनहुँको व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार जोड्ने पुल निर्माणमा ढिलाइ भएको छ। सेतीमादी नदी माथिको पुल निर्माण कार्य २ वर्षमा ६ प्रतिशत मात्र पूरा भएको हो।
पुल सम्झौता अवधि ६ महिना बाँकी हुँदा निर्माण कार्य पनि ६ प्रतिशत मात्र सम्पन्न भएको छ। विसं २०७७ मङ्सिर १९ गते ३० महिनामा सम्पन्न गर्ने गरी रसुवा इलाइट जेभी काठमाडौँले सम्झौता गरेको थियो । निर्माण कार्यले सन्तोषजनक गति नलिएपछि पटकपटक परिपत्र गरेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ।
उक्त पुलको कूल लागत रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ छ । उक्त पुलको लम्बाइ १५४ र चौडाइ ९।५० मिटर छ । हिउँदमा कामले गति लिने समय भएकाले निर्माण कार्य अघि बढाउन ताकेता गर्दै आएको कार्यालयले जनाएको छ।
पुल निर्माणस्थलसम्म हेभी इक्युपमेन्ट लैजान सडक साँघुरो भएका कारण समस्या भएको निर्माण कम्पनीको भनाइ छ । दुवै पालिकाका अध्यक्षसँग समन्वय गरी सडक मार्गको ट्र्याक खुलेपछि निर्माण कार्य सहज भएकाले अब कामले गति लिने स्थानीयको अपेक्षा छ।