वीरेन्द्रनगर। सुर्खेत विमानस्थलबाट कर्णालीका विकट विभिन्न जिल्लामा पुनः हवाई सेवा सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले सुर्खेत विमानस्थलबाट सबैभन्दा विकट हुम्लामा विमान सेवा पुनः सञ्चालन गरिएको हो।
हाल सीता एयर र समिट एयरले दैनिक २ देखि ३ उडान गरिरहेको सुर्खेत विमानस्थलले जनाएको छ। सुर्खेत विमानस्थलबाटै हुम्ला हवाई सेवा सञ्चालन भएपछि प्लेन चढ्नका लागी नेपालगन्ज पुग्नु पर्ने समस्याको समाधान भएको छ।
सुर्खेतबाट काठमाडौं जाने बुद्ध एयरको गत महिनादेखि ७२ सिटे जहाजले दैनिक २ उडान सुरु गरेपछि यात्रुहरुलाई थप सहज भएको बताइएको छ। त्यसअघि ४२ सिटेमात्रै जहाज उडान हुँदा यात्रुहरु समस्यामा परेका थिए।
विगत ६८ वर्षदेखि संचालनमा आएको सुर्खेत विमानस्थलले गत आर्थिक वर्षमा ४१ लाखमात्रै राजस्व आम्दानी गरेको सुर्खेत विमानस्थलले चालु आर्थिक वर्षको ६ महिनामा ४४ लाख राजस्व आम्दानी गरिसकेको र थप ठूला जहाजहरुको उडानले अझै तेब्बर राजस्व आम्दानी हुने लक्ष्य लिइएको बताइएको छ।